🇳🇵 Singha Durbar: The Last Cabinet
🏛️ Internal Policy
🌑 Secret Operations
🌍 Global & Trade
☢️ Emergency
Prime Minister, the budget session is starting. The people are watching.
Beyond the Headlines.
Prime Minister, the budget session is starting. The people are watching.
GP Sir is a Development Economist and a Banking Professional. He holds M.A. degrees in Economics, Political Science, Rural Development, a B.Ed., and is an MPhil scholar in Economics. He writes to connect economics with people’s lives.
GP Sir is a Development Economist and a Banking Professional. He holds M.A. degrees in Economics, Political Science, Rural Development, a B.Ed., and is an MPhil scholar in Economics. He writes to connect economics with people’s lives.
जीवन मार्ग कक्षा १२ को नेपाली पाठ्यक्रममा समावेश गरिएको एक प्रभावशाली रिपोर्टाजमूलक रचना हो, जसले नेपाली समाजमा उद्यमशीलता, आत्मनिर्भरता र श्रमको महत्त्वलाई यथार्थपरक ढङ्गले उजागर गर्छ।
यस पाठको केन्द्रमा छिरिङ नामक पात्रको जीवन सङ्घर्ष छ, जो आर्थिक रूपमा कमजोर परिवारमा जन्मिएर सानै उमेरदेखि जिम्मेवारी बोक्न बाध्य हुन्छ। बुबाको निधनपछि शिक्षा र जीवनयापन दुवैलाई सँगसँगै अघि बढाउँदै उनले परिश्रम, धैर्य र दृढ इच्छाशक्तिको मूल्य बुझ्छन्। विभिन्न पेशा र विदेश भ्रमणबाट प्राप्त अनुभवले छिरिङलाई श्रमको सम्मान, समयको सदुपयोग र दीर्घकालीन सोचको महत्व सिकाउँछ। जग्गा प्लटिङजस्ता अनुत्पादक व्यवसायप्रति आकर्षित नहुई उनले नेपाली मौलिकता, स्थानीय स्रोतसाधन र परम्परागत सीपको उपयोग गर्दै चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान स्थापना गर्छन्।
यस प्रतिष्ठानबाट उत्पादित प्राकृतिक, अर्गानिक र सांस्कृतिक पहिचान बोकेका वस्तुहरू स्वदेश तथा विदेशमा लोकप्रिय बन्छन्, जसले रोजगारी सिर्जना, निर्यात प्रवर्द्धन र राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ। पाठले अरूको नक्कल गर्ने प्रवृत्तिको आलोचना गर्दै मौलिक सोच, स्वस्थ प्रतिस्पर्धा, सहकार्य र जोखिम मोल्ने साहसलाई सफल जीवनको आधार मानेको छ।
यसरी जीवन मार्ग नेपाली युवालाई “स्वदेशमै सम्भावना छ” भन्ने आत्मविश्वास जगाउँदै संघर्ष, श्रम र सृजनशीलताबाट नै साँचो समृद्धि सम्भव हुन्छ भन्ने सशक्त सन्देश दिन्छ।
शब्द — अर्थ
मौलिक — कसैको आधार नलिएको, सिर्जनात्मक
बाहुल्य — धेरै हुनाको भाव वा अवस्था
जतन — सुरक्षित
चिनो — चिह्न, निसान
निर्यात — स्वदेशबाट विदेशमा सामान पठाउने काम
वर्चस्व — आफ्नो अधिकार कुरामा गरिने दखल
मूर्त — स्पष्ट आकार भएको
किनिमा — भटमासबाट बनाइएको एक प्रकारको परिकार
मकर नुहाउनु — माघे सङ्क्रान्तिमा नुहाउने काम
हस्तक्षेप — निय अधिकार
फत्ते — सम्पन्न, पूरा
उत्तर :
कटुसका दिउल — कटुसको फग्ल्याँटो, विजन, बियाँ
सतीबयर — भेट्नैपिच्छे तीनतीन वटा पात लाग्ने, मसिना अमिला दाना फल्ने एक फल
सिन्की — गोल्फु, घंटो आदिमा खाँदर अमिल्याइएर झिकेको र झोलिलो तिहुन खाइने वस्तु (गुन्द्रुक)
सुचियाः — नुन हालेर पकाइएको चिया
मार्सी चामल — उच्च पहाडी भेगमा फल्ने हल्का खैरो रङको असल चामल
गहत — दाल जातको लहरो वा त्यसैको कोसामा फल्ने चेप्टो आकारको गेडादार अन्न
बुङको आलु — माटो र खरानीमा फल्ने आलु
पिँडालु — कलिला पात गाभाको रूपमा र जरामा फल्ने गानु, उसिनेर वा तरकारी पकाएर खाइने
जिम्बु — गुन्द्रुक जस्तै देखिने, घिउ तेलमा फुराएर दाल झान्ने काममा प्रयोग गरिने वनस्पति
उत्तर :
काइँयो : कपाल कोर्न र मिलाउन प्रयोग गरिने साधन
थाक्रो : काँको, घिरौंला, सिमी आदि लहरे तरकारीलाई झ्याँगिन आडस्वरूप भुइँमा गाडिने रुखको हाँगा
फिपी : बेत, बाँस आदि चोयाले बुनेको बिर्कोवाला भाँडो
नाङ्लो : अन्न केलाउने साधन (सुपो)
डालो : अन्नपात हाल्ने फराक मुख भएको केही गहिरो भाँडो
चाल्नो : पिठो आदि छान्न बनाइएको मसिना प्वाल भएको साधन
गलैंचा : सुतीको डोरी, भेडाको ऊन आदि प्रयोग गरी विभिन्न रङका बुट्टा पारेर बुनिने बाक्लो र नरम बिछ्यौना
राडी : नेपाली ऊनबाट बुनिने काम्लोजस्तो खस्रो बिछ्याइने कपडा
लुकुनी : मिहीन राडीबाट सिएर तयार पारिएको जीउमा लगाउने कपडा
थाङ्का : कागज वा कपडामा बनाइने एक प्रकारको चित्र
खाँडीको कपडा : घरेलु तानमा बुनिएको खस्रो कपडा
भाङ्ग्राको झोला : भाङ्ग्राबाट बुनेको बोराजस्तो खस्रो झोला
बाँसका कुर्सी : बाँसका काण्ड प्रयोग गरी बनाइएका बस्न मिल्ने साधन
सोफा : काठको आधार, फोम र कपडाको आवरण प्रयोग गरी बनाइएको आरामदायी बस्ने साधन
थुन्से : सामान बोक्न बाँस वा निगालाको चोयाले बुनेको प्वाल नभएको डोकोजस्तो साधन
अम्रिसाको कुचो : बढार्न प्रयोग गरिने साधन
नेपाली कागज : नरिचो, अल्लो आदिबाट नेपालमा बनेको कागज
ठेकी : दही, मही, घिउ, तेल राखिने काठको भाँडो
मदानी : दही मथी मही पार्ने साधन
सुरो : पूजामा होम गर्दा आगामा घिउ हाल्न प्रयोग गरिने खयर काठको लट्ठी
उत्तर :
परिकल्पनाकार : पछि सिद्ध हुन सक्ने कुराको पहिले नै अड्कल गर्ने व्यक्ति
आना : चार पैसाको समुदाय, रूपैयाँको पच्चिसौँ भाग
धुर : एक कट्ठाको बिसौँ भाग जमिनको परिमाण
आत्मनिर्भर : अरूको भर नपरी आफ्नै बलमा बाँच्ने
आयात : विदेशबाट मालसामान भित्र्याउने काम
एकाधिकार : कुनै काम वा व्यापारमा एउटै व्यक्तिको पूर्ण अधिकार
कृत्रिम : प्राकृतिक नभएको, बनावटी
अर्गानिक : जैविक प्रक्रियाबाट उत्पादित
जोखिम : हानिनोक्सानी हुन सक्ने अवस्था
विकल्प : धेरैमध्ये एउटा छान्ने काम
| शब्द | शब्दवर्ग | शब्दस्रोत | अर्थ |
|---|---|---|---|
| असल | विशेषण | अरबी | राम्रो, उत्तम |
| विकास | नाम | संस्कृत | उन्नति |
| इष्ट | विशेषण | संस्कृत | इच्छा गरिएको |
| स्कुल | नाम | अङ्ग्रेजी | विद्यालय |
| चिया | नाम | चीनदेशीय | पेय पदार्थ |
हात्तीका मुखमा जिरा
दुई दिनदेखिको भोको मान्छेलाई एक टुका स्याउ त हात्तीका मुखमा जिरा जस्तै हो ।
काम गर्ने कालु मकै खाने भालु
विदेशी भूमिमा हर्केले पसिना बगाएर कमाएको पैसाले गाउँमा उसकी स्वास्नीले मस्ती गरेर बसेकी छ । यो त काम गर्ने कालु मकै खाने भालु जस्तै भएन र !
खाने मुखलाई जुँघाले छेक्दैन
खाने मुखलाई जुँघाले छेक्दैन भनेझैँ सुशान्तले बत्ती गएको बेला मैनबत्ती बालेर पनि पढ्छ ।
गर्ने भन्ने हनुमान्, पगरी गुथ्ने ढेडु
गाउँलेले श्रमदानबाट बाटो खने तर जसजति वडाध्यक्षले पाए, यो त गर्ने भन्ने हनुमान् पगरी गुथ्ने ढेडु जस्तै भयो ।
घाँटी हेरी हाड निल्नु
घाँटी हेरी हाड निल्नु भनेझैँ हामीले आम्दानी हेरेर खर्च गर्नुपर्छ ।
बोल्नेको पिठो पनि बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन
बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भनेझैँ मिठो बोलेर ग्राहकको मन जितेपछि धेरै व्यापार गर्न सकिन्छ ।
मेरो गोरुको बाह्रै टक्का
मेरो गोरुको बाह्रै टक्का भनेझैँ हाम्रा नेताहरू आफ्नो कुरा मात्र सही ठान्छन् ।
म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो
जागिरबाट जिन्दगी नचलेर व्यापार गर्न थालेको थिएँ, यसमा पनि उल्टै घाटा मात्र भयो । यो त म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो जस्तै भयो ।
रातभरि करायो, दक्षिणा हरायो
दिनभर काम गरेर पनि साहुले खाना समेत दिएन । यो त रातभरि करायो दक्षिणा हरायो जस्तै भयो ।
हुने बिरुवाको चिल्लो पात
हुने बिरुवाको चिल्लो पात भनेझैँ केशब सानैदेखि अध्ययनमा निकै चासो दिन्छ ।
हात्ती आयो हात्ती आयो फुस्सा
विदेशबाट दाइ आउँदा धेरै कुरा ल्याइदिनुहुन्छ होला भन्ने लागेको थियो, केही पनि ल्याइदिनुभएन । यो त हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भयो ।
एकले थुकी सुकी, सयले थुकी नदी
एकले थुकी सुकी सयले थुकी नदी भनेझैँ देश विकासको काम एक्लैले सम्भव हुँदैन, सबै मिलेर गर्नुपर्छ ।
नमच्चिने पिङको सय झट्का
खुब राम्रो क्रिकेट खेल्छु भन्ने रोशन शून्य रनमै आउट भयो । यो त नमच्चिने पिङको सय झट्का जस्तै भयो ।
उत्तर :
चोमोलुङ्गा औद्योगिक प्रतिष्ठान विगत पाँच वर्षदेखि स्थानीय कच्चा पदार्थको प्रयोग गरी नेपालको मौलिकता र पहिचानमा आधारित वस्तुको उत्पादन गरी स्वदेश र विदेशमा बिक्री वितरण गर्ने लोकप्रिय औद्योगिक प्रतिष्ठान हो ।
उत्तर :
चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानबाट बिक्री गरिने सामान नेपालको मौलिकता र पहिचानमा आधारित भएकाले लोकप्रिय भएका हुन् ।
उत्तर :
छिरिङको परिवारमा छिरिङ, बाबाआमा र भाइबहिनीहरू छन् । थोरै मात्र भएको जग्गाजमिनको उब्जनीले तीन चार महिना पनि धान्दैनथ्यो । बुबाले भारी बोकेर अनि आमाले बनीबुतो गरेर उनीहरूको जीवन जेनतेन चलेको हुनाले आर्थिक दृष्टिकोणले दयनीय छिरिङको न्यून मध्यम वर्गीय पारिवारिक पृष्ठभूमि कमजोर छ ।
उत्तर :
जग्गा प्लटिङ व्यवसायबाट पैसा कमाइए पनि खेतीयोग्य जमिन मासिने, कङ्क्रिटको जङ्गल विस्तार हुने र नेपालीले वर्षौँ दुःख गरेर कमाएको पैसा बर्बाद हुने भएकाले छिरिङलाई जग्गा प्लटिङ व्यवसाय ठिक लागेन ।
उत्तर :
नेपालीहरू विश्वको जुनसुकै कुनामा पुगे पनि आफ्नो मौलिकता र पहिचान भुलेका छैनन् । उनीहरू उपलब्ध भएसम्म आफ्ना मौलिक वस्तुको उपभोग गर्न रुचाउँछन् । आज विश्वभर कृत्रिम र विषादीयुक्त खानपानका कारण अनेक रोग निम्तिएका छन् । नेपालजस्तो प्रकृतिले भरिएको देशमा अर्गानिक तथा प्राकृतिक वस्तुको उत्पादन गर्न सकियो भने नेपाली मौलिक उत्पादन संसारभर बिक्री हुन सक्छ । त्यसैले नेपाली मौलिक उत्पादनको बजार प्रशस्त सम्भावनायुक्त छ ।
उत्तर :
बजारको विस्तारसँगै कुनै एउटा उद्योगका उत्पादनले मात्र सबैको माग र आवश्यकता पूरा गर्न सक्दैन । गुणस्तरीय मौलिक वस्तु उत्पादन गर्न सकिएमा प्रतिस्पर्धी थपिँदैमा डराउनुपर्ने अवस्था हुँदैन । त्यसैले प्रतिस्पर्धी बढ्दैमा आत्तिनु पर्दैन भनिएको हो ।
उत्तर :
जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनामा राष्ट्रियताको भावना जगाउँदै उद्यमशीलताको चेतना अभिवृद्धि गर्ने मूल सन्देश प्रवाहित गरिएको छ । चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानले नेपालको मौलिकता, पहिचान, स्रोत साधन, श्रम र सिपको सदुपयोग गर्दै उत्पादित वस्तुलाई स्वदेश तथा विदेशमा लोकप्रिय बनाउँदै औद्योगिक सफलता हासिल गरेको तथ्य लेखकलाई अत्यन्त प्रभावित बनाएको छ ।
लेखकले आफ्नै घरभित्र चोमोलुङ्गा प्रतिष्ठानका उत्पादनहरूको बाहुल्य देखेका छन् । देशविदेशमा रहेका नेपालीका घरघरमा यस प्रतिष्ठानका सामान पुगेका छन् । नेपाल आउने विदेशीहरूले यस प्रतिष्ठानका सामान चिनोका रूपमा लैजान थालेका छन् । निर्यात हुने वस्तुमा चोमोलुङ्गा प्रतिष्ठानका उत्पादनको वर्चस्व बढ्दै गएको छ । यी सबै कारणले लेखक स्वाभाविक रूपमा प्रभावित भई चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका विषयमा रिपोर्ताज लेख्न अग्रसर भएका हुन् ।
उत्तर :
अरूले नाफा कमाएको देखेर त्यही व्यवसायको नक्कल गर्नु ठीक भए पनि अरूको प्रगतिमा रिस गर्नु राम्रो होइन । रिस, डाहा र जलनले आफैँलाई हानि पुर्याउँछ । सबैले एउटै काम गरेर सफल हुन सक्दैनन् । विकल्प खोज्नुपर्छ भन्ने सन्देश उक्त उखानले दिन्छ ।
उत्तर :
पहिलो कुरा गुणस्तरमा सम्झौता गर्नु हुँदैन । दोस्रो कुरा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र आदानप्रदानको संस्कृति विकास गर्नुपर्छ । यसरी अघि बढेमा जति धेरै उत्पादन, त्यति धेरै फाइदाको अवस्थामा पुग्न सकिन्छ ।
उत्तर :
छिरिङले विभिन्न देशको भ्रमणबाट श्रमको महत्व बुझ्ने अवसर पाए । स्वदेशमै बसेर मौलिकता, पहिचान, स्रोत साधन, श्रम र सिपको सदुपयोग गरे आत्मनिर्भर बन्न सकिने शिक्षा पाए । नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा पुर्याएर देशको विकास र समृद्धिमा योगदान गर्न सकिने सन्देश उनले भ्रमणबाट प्राप्त गरे ।
उत्तर :
छिरिङको जीवन सङ्घर्षबाट कठिन परिस्थितिमा पनि हार नमानी निरन्तर मेहनत गर्नुपर्छ भन्ने शिक्षा लिन सकिन्छ । स्वदेशमै रहेका स्रोत साधनको सदुपयोग गरी उद्यम गरे आत्मनिर्भर मात्र होइन, देशको विकासमा समेत योगदान दिन सकिन्छ । अनुत्पादक क्षेत्रमा लगानीभन्दा औद्योगिक क्षेत्रमा लगानी गर्नु श्रेयस्कर हुन्छ भन्ने सन्देश छिरिङको जीवनले दिन्छ ।
उत्तर :
प्रस्तुत उद्धरण कक्षा १२ को नेपाली पाठ्यपुस्तकअन्तर्गत रहेको जीवन मार्ग शीर्षकको रिपोर्ताजमूलक रचनाबाट साभार गरिएको हो । यस उद्धरणमा नेपाली समाजमा विद्यमान गलत प्रवृत्तिप्रति सङ्केत गरिएको छ । नयाँ सोच, नयाँ परिकल्पना र जोखिम मोल्ने साहसको अभावका कारण धेरै मानिस अरूले गरेको देखेर त्यसैको नक्कल गर्न उद्यत हुन्छन् ।
मानिस सिर्जनशील प्राणी हो । नवीन सोच र रचनात्मक कार्यबाट नै व्यक्तिको मौलिकता र पहिचान स्थापित हुन्छ । नयाँ कुराको परिकल्पना गर्न ज्ञान, तर्कशक्ति, निर्णय क्षमता र जोखिम मोल्ने आँट आवश्यक पर्छ । परिकल्पनालाई मूर्त रूप दिन निरन्तर श्रम, समय र सम्पत्तिको लगानी गर्नुपर्छ । तर यस्ता कठिनाइबाट डराउनेहरू अरूको नक्कल गरी अस्वस्थ प्रतिस्पर्धामा लाग्ने गर्छन् ।
अरूको नक्कल गर्दा न त मौलिकता रहन्छ, न त दीर्घकालीन सफलता प्राप्त हुन्छ । एउटै व्यवसाय चलेको देखेपछि त्यही प्रकारका अनेक व्यवसाय खोल्ने प्रवृत्ति समाजमा व्याप्त छ, जसले अस्वस्थ प्रतिस्पर्धा बढाउँछ । प्रस्तुत उद्धरणले यस्तो प्रवृत्तिको आलोचना गर्दै मौलिक सोच, नवीन परिकल्पना र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता औँल्याएको छ । स्थानीय स्रोत साधनको सदुपयोग गर्दै मौलिक उत्पादनमा लागेमा मात्र दिगो सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश यस उद्धरणले दिन्छ ।
उत्तर :
प्रस्तुत उद्धरणले साहित्य सिर्जनामा बौद्धिकता र भावनाको समान महत्व रहेको तथ्य स्पष्ट पारेको छ । केवल भावना भए पनि ज्ञान र बौद्धिक क्षमता नहुँदा ती भावनालाई शब्दमा उतार्न सकिँदैन । त्यस्तै केवल ज्ञान भएर भावनाको अभाव भएमा लेखन नीरस र प्रभावहीन हुन्छ ।
कलम ज्ञान, बौद्धिकता र तर्कशक्तिको प्रतीक हो भने हृदय भावना, अनुभूति र संवेदनाको केन्द्र हो । यी दुवैको सन्तुलित संयोजनबाट मात्र उत्कृष्ट साहित्य सिर्जना सम्भव हुन्छ । लेखकले आफ्ना अनुभव, विचार र भावनालाई बौद्धिक संयोजनका साथ कलममार्फत प्रस्तुत गर्दा साहित्य जीवन्त र प्रभावकारी बन्छ ।
जीवन मार्ग रिपोर्ताजमूलक रचनामा पनि लेखकले प्रत्यक्ष अनुभव, भावनात्मक अनुभूति र तथ्यपरक विवरणलाई कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । कलम र हृदयको मेल भएकै कारण यो रचना प्रेरणादायी, प्रभावशाली र पाठकको मन छुने बनेको छ । त्यसैले राम्रो लेखनका लागि भावना र ज्ञान दुवैको समन्वय अनिवार्य हुन्छ भन्ने सन्देश उक्त उद्धरणले दिन्छ ।
उत्तर :
जीवन मार्ग रिपोर्ताज राष्ट्रभक्ति भाव झल्काउने, स्वदेशमा गरिने उद्यमप्रति सकारात्मक सोच विकास गराउने प्रेरणादायी रचना हो । रिपोर्ताज समसामयिक विषयमा आधारित भएर प्रत्यक्ष अनुभव र अवलोकनका आधारमा तयार पारिन्छ । यस रिपोर्ताजमा लेखकले छिरिङसँग प्रत्यक्ष वार्ता गरी, उनको जीवन सङ्घर्ष, सोच र उपलब्धिलाई तथ्यपरक तथा कलात्मक ढङ्गले प्रस्तुत गरेका छन् ।
यो रचना पढ्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास जागृत हुन्छ । नेपाली मौलिकता, पहिचान र स्थानीय स्रोत साधनको सदुपयोग गरी उद्योग स्थापना गर्ने छिरिङको सोच अत्यन्त प्रशंसनीय लाग्छ । चोमोलुङ्गा औद्योगिक प्रतिष्ठानका उत्पादन स्वदेश तथा विदेशमा लोकप्रिय हुनु गर्वको विषय हो । छिरिङको अथक सङ्घर्ष, लगनशीलता र दृढ इच्छाशक्तिले पाठकलाई उद्यमशील बन्न प्रेरित गर्छ ।
भाषा सरल, विषयवस्तु प्रेरणादायी र प्रस्तुति प्रभावशाली भएकाले जीवन मार्ग शीर्षकअनुरूप धेरैका लागि साँच्चिकै जीवनको मार्गदर्शक बन्न सक्छ । त्यसैले तर्कसहित भन्न सकिन्छ कि जीवन मार्ग एक उत्कृष्ट, प्रेरणादायी र उपयोगी रिपोर्ताजमूलक रचना हो ।
उत्तर :
ओलम्पिक खेलमा नेपालको प्रवेश सन् १९६४ मा टोकियो ओलम्पिकबाट भएको हो ।
उत्तर :
ओलम्पिकमा नेपालको सहभागिता म्याराथुन, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, तेक्वान्दो, सुटिङ, पौडी र जुडो खेलमा हुने गरेको छ ।
उत्तर :
सन् १९८० को मास्को ओलम्पिकमा १२ जना नेपाली खेलाडीले भाग लिएका थिए ।
उत्तर :
नेपालले ओलम्पिक खेलमा पाएको सफलता ऐतिहासिक तथा उत्साहवर्द्धक रहेको छ ।
परापूर्वकालदेखि समाजमा प्रचलित लोककला पुस्तान्तरण हुँदै आएको
नेपालमा थारु, मैथिली, नेवारी, पर्वते, किरात, राजवंशी आदि लोककला प्रचलित
थारु लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला आदिको प्रयोग
लोककलाको मुख्य उद्देश्य जीवनलाई सुमधुर बनाउनु
नेपालमा परापूर्वकालदेखि विभिन्न जातजातिका लोककला पुस्तान्तरण हुँदै आएका छन् । थारु, मैथिली, नेवारी, किरात, राजवंशी आदि समुदायका लोककलाले नेपाली समाजको पहिचान झल्काउँछन् । थारु लोककलामा चित्रकला, मूर्तिकला, वास्तुकला, हस्तकला आदिको विशेष स्थान रहेको छ । यस्ता लोककलाको मूल उद्देश्य मानव जीवनलाई सुन्दर, सुमधुर र अर्थपूर्ण बनाउनु हो ।
सारांशमा शब्द संख्या: ४३
GP Sir is a Development Economist and a Banking Professional. He holds M.A. degrees in Economics, Political Science, Rural Development, a B.Ed., and is an MPhil scholar in Economics. He writes to connect economics with people’s lives.
Nepali Pahichan (Nepali Identity) is a key chapter in the NEB Class 12 Nepali syllabus that examines the cultural, social, and national identity of Nepal. The chapter presents Nepal as a diverse nation with multiple ethnic groups, languages, cultures, traditions, and religions living together in harmony.
Through a dialogue-based discussion, the chapter explains that Nepal’s true identity lies in unity within diversity. It highlights tolerance, mutual respect, cooperation, and coexistence as the core strengths of Nepalese society. The lesson also emphasizes that diversity should be seen as a national asset rather than a problem.
The chapter strongly focuses on the role of education in eliminating social evils such as superstition, discrimination, untouchability, and harmful traditions. Education promotes awareness, scientific thinking, inclusiveness, and social harmony, which are essential for building a strong national identity.
Overall, Nepali Pahichan encourages students to develop national pride, respect cultural diversity, preserve cultural heritage, and actively contribute to social unity and national development.
👉 Read NEB Class 12 Nepali All Chapter Notes
नेपाली पहिचान कक्षा १२ को नेपाली पाठ्यक्रमअन्तर्गत पर्ने महत्वपूर्ण पाठ हो। यस पाठमा नेपालको सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय पहिचानको गहिरो विश्लेषण गरिएको छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको तथ्यलाई यस पाठले स्पष्ट रूपमा प्रस्तुत गर्दछ।
संवादात्मक शैलीमा लेखिएको यस पाठले जाति, भाषा, संस्कृति, धर्म, परम्परा र भौगोलिक विविधताले नेपाली समाजको पहिचान निर्माण गरेको देखाउँछ। विविधताबीचको सहिष्णुता, आपसी सम्मान, सहकार्य र एकता नै नेपाली समाजको मूल शक्ति हो भन्ने सन्देश यस पाठले दिन्छ। विविधतालाई समस्या होइन, राष्ट्रिय सम्पत्तिका रूपमा लिनुपर्ने विचार प्रस्तुत गरिएको छ।
यस पाठमा शिक्षाको भूमिकालाई विशेष महत्त्व दिइएको छ। शिक्षाको विकाससँगै अन्धविश्वास, कुरीति, कुसंस्कार, छुवाछुत र विभेदजस्ता सामाजिक विकृतिहरू क्रमशः समाप्त हुँदै जाने धारणा व्यक्त गरिएको छ। शिक्षा नै राष्ट्रिय चेतना, सामाजिक सद्भाव र समावेशी पहिचानको आधार हो।
समग्रमा, नेपाली पहिचान पाठले विद्यार्थीलाई राष्ट्रिय गौरवको भावना विकास गर्न, सांस्कृतिक विविधताको सम्मान गर्न, सामाजिक एकता कायम राख्न र नेपालको पहिचान जोगाउन सचेत नागरिक बन्न प्रेरित गर्दछ।
सोद्देश्य : स्पष्ट लक्ष्यसहित गरिएको
समन्वय : आपसी तालमेल
उदात्त : उच्च र महान्
उपादेयता : काम लाग्ने गुण
स्वावलम्बी : आफैँमा भर पर्न सक्ने
स्वायत्तता : स्वतन्त्र रूपमा निर्णय गर्न सक्ने अवस्था
बोनस : अतिरिक्त लाभ
आधिपत्य : प्रभुत्व
उर्वरा : उत्पादनशील
अनुपम : तुलना गर्न नसकिने
(क) कुनै जाति वा समुदायको प्रगतिको सम्पूर्ण प्रतिबिम्ब
सभ्यता
(ख) उद्योग, व्यापार आदि व्यवसायमा लगानी गरिएको मूल रकम
सावाँ
(ग) साझा व्यापारमा लगानीको हिस्सा
सेयर
(घ) आकस्मिक प्रयोजनका लागि सुरक्षित राखिएको धन
जगेडा
(ङ) कार्य सञ्चालनका लागि बनाइएको कानुनी नियम
ऐन
(च) ऐन वा विधानको उपविभाग
दफा
उदय : अस्त
उन्नति : अवनति
सुखी : दुःखी
खुला : बन्द
संयोग : वियोग
स्वायत्तता : पराधीनता
लाभ : हानी
विगत : आगत
विकास : विनाश
नाफा : नोक्सान
१. हात छाड्नु (पिट्नु)
👉 अनुशासनहीन व्यवहार गरेपछि प्रशिक्षकले हात छाडे।
२. सातो जानु (होसहवास हराउनु)
👉 अचानक ठूलो आवाज सुन्दा सबैको सातो गयो।
३. घुँडा टेक्नु (हार खानु)
👉 दबाबका अगाडि घुँडा टेक्नु वीरताको लक्षण होइन।
४. टाउकामा टेक्नु (हेप्नु)
👉 धेरै सहनशील हुँदा कतिपयले टाउकामा टेक्न थाले।
५. कुलेलम ठोक्नु (भाग्नु)
👉 प्रहरी देख्नेबित्तिकै अपराधीले कुलेलम ठोके।
६. खुट्टा तान्नु (अवरोध पुर्याउनु)
👉 प्रगतिशील सोच भएका मानिसको खुट्टा तान्न हुँदैन।
७. हात थाप्नु (माग्नु)
👉 आत्मनिर्भर बनेपछि कसैले हात थाप्नुपर्दैन।
८. ज्यान दिनु (पूर्ण सहयोग गर्नु)
👉 संकटको घडीमा उनले साथीलाई ज्यान दिए।
९. तालुमा आलु फल्नु (भाग्य खुलेको)
👉 राम्रो रोजगारी पाएपछि उसको तालुमा आलु फल्यो।
१. अग्रिम : पहिल्यै उपलब्ध गराइने
२. अधिकृत : कानुनी अधिकार प्राप्त कर्मचारी
३. अन्तःशुल्क : उत्पादनमा लाग्ने सरकारी कर
४. अब्बल : अत्यन्त राम्रो गुणस्तरको
५. आपूर्ति : आवश्यक वस्तु पुर्याउने प्रक्रिया
६. आयब्यय : आम्दानी र खर्चको विवरण
७. आरक्ष : संरक्षणका लागि सुरक्षित क्षेत्र
८. ऐलानी : सरकारी दर्ता नभएको जग्गा
९. कार्यवाहक : अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यक्ति
१०. कित्ता : वर्ग वा श्रेणी
११. कुत : जग्गा कमाउँदा बुझाइने अन्न
१२. गण : समान प्रकृतिको समूह
१३. चाहार : वर्षामा मात्र उत्पादन हुने जमिन
१४. दोयम : मध्यम स्तरको
१५. पर्ती : प्रयोग नभएको बाँझो जमिन
१६. मोठ : सम्पत्तिको हिसाब लेखिएको कागज
१७. सिम : सधैँ भिजिरहने जमिन
१८. सुकुम्बासी : घरजग्गा नभएको व्यक्ति
(क) सहकारी भनेको के हो ?
सहकारी भनेको साझा हितका लागि सदस्यहरूले आपसी सहयोग र सहकार्यद्वारा स्थापना गरेको आर्थिक तथा सामाजिक संस्था हो।
(ख) आधुनिक सहकारीको अवधारणा कुन देशबाट आएको मानिन्छ ?
आधुनिक सहकारीको अवधारणा बेलायतबाट सुरु भएको मानिन्छ।
(ग) नेपाली संस्कृतिको मुख्य आधार के हो ?
नेपाली संस्कृतिको मूल आधार पारस्परिक सहयोग, गुठी प्रथा, मेलपात, ऐचोपैचो र सामूहिक जीवनपद्धति हो।
(घ) सहकारीका निर्देशक सिद्धान्त के के हुन् ?
सहकारीका निर्देशक सिद्धान्तमा स्वैच्छिक सदस्यता, लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता, सहकार्य, शिक्षा र समुदायप्रतिको सरोकार पर्दछन्।
(ङ) सहकारीको मुख्य नाराको आशय के हो ?
यस नाराले आत्मनिर्भरता, पारस्परिक सहयोग र सामूहिक उन्नतिलाई जोड दिन्छ।
(च) ‘सहकारी’ प्रबन्धको पहिलो र दोस्रो अनुच्छेदको सार भन्नुहोस् ।
पहिलो अनुच्छेदमा सहकारीको परिभाषा र उद्देश्य प्रस्तुत गरिएको छ भने दोस्रो अनुच्छेदमा सहकारीको अवधारणालाई पूर्वीय जीवनदर्शनसँग जोडिएको छ।
(छ) सहकारी किन आवश्यक छ ?
सहकारी आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता वृद्धि, राष्ट्रिय अर्थतन्त्र सुदृढीकरण र सामाजिक समृद्धिका लागि आवश्यक छ।
नेपालमा सहकारी स्थापना गर्नुको मूल उद्देश्य सहकार्यको माध्यमबाट व्यक्तिलाई आत्मनिर्भर बनाउँदै समुदायको दीर्घकालीन विकास गर्नु हो। सहकारी प्रणाली आर्थिक उन्नतिलाई केन्द्रमा राखी स्थापना गरिएको साझा संस्था हो। यसका उद्देश्यहरूमा जनजीवनलाई सुखी र समृद्ध बनाउनु, सामूहिक आर्थिक गतिविधि सञ्चालन गर्नु, नेपाल तथा नेपालीको समग्र आर्थिक विकास गर्नु पर्दछन्। साथै, ठूलो सङ्ख्यामा युवा विदेशिनुपर्ने बाध्यताको अन्त्य गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नु, परनिर्भरता घटाएर आत्मनिर्भर संस्कृतिको विकास गर्नु, राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनु पनि सहकारीका प्रमुख उद्देश्य हुन्। आम नागरिकमाझ छरिएर रहेको पुँजी, सीप र प्रविधिलाई एकीकृत प्रयोग गरी आर्थिक प्रगति गर्नु, व्यक्तिलाई सक्षम बनाउँदै समाजको उन्नति गर्नु, उद्यमशील तथा सिर्जनशील कार्यलाई प्रोत्साहन गर्नु र नेपालजस्तो विकासोन्मुख देशलाई संसारकै समुन्नत र सुखी राष्ट्र बनाउनु नै सहकारी स्थापनाका मुख्य उद्देश्यहरू हुन्।
संयुक्त राष्ट्रसङ्घले सहकारीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको आधारका रूपमा स्वीकार गर्दै सबै राष्ट्रलाई यस प्रणालीलाई अपनाउन सुझाव दिएको छ। यो सुझावसँग म पूर्ण रूपमा सहमत छु।
सहकारी भनेको पारस्परिक सहयोग र सहकार्यका आधारमा आर्थिक समृद्धि हासिल गर्न स्थापना गरिएको संस्था हो। आधुनिक सहकारी अवधारणा उन्नाइसौँ शताब्दीको पहिलो भागमा सन् १८४४ मा बेलायतबाट सुरु भएको मानिन्छ। सहकारीमार्फत बेलायतले छोटो अवधिमै उल्लेखनीय आर्थिक प्रगति गरेपछि विश्वका अन्य देशहरूले पनि यस प्रणालीलाई अनुसरण गरेका छन्। सहकारीको उपयोगिता समाजका सबै क्षेत्रमा देखिए पनि आर्थिक विकासमा यसको भूमिका अत्यन्त महत्वपूर्ण छ, किनकि आर्थिक समृद्धि नै समग्र विकासको आधार हो। सन् १८८५ मा अन्तर्राष्ट्रिय सहकारी महासङ्घ स्थापना भई यसले सहकारीका आधारभूत मूल्य र नैतिक मान्यताका आधारमा स्वैच्छिक तथा खुला सदस्यता, लोकतान्त्रिक नियन्त्रण, आर्थिक सहभागिता, स्वायत्तता, सहकारीबीच सहयोग, समुदायप्रतिको सरोकार, शिक्षा, तालिम र सूचना जस्ता निर्देशक सिद्धान्तहरू तय गरेको छ। यिनै सिद्धान्तअनुसार विश्वका धेरै देशमा सहकारी सञ्चालन हुँदै आएको छ। न्यून पुँजी भएका व्यक्तिहरूले पनि ‘एक थुकी सुकी सय थुकी नदी’ भनेझैँ सानो बचतलाई एकत्रित गरी ठूलो पूँजी बनाउने अवसर सहकारीले दिएको छ। सबै वर्गका मानिसलाई समेट्न सक्ने भएकाले अविकसितदेखि विकसित देशसम्म सहकारी फैलिएको छ। त्यसैले संयुक्त राष्ट्रसङ्घको सुझाव अत्यन्त सान्दर्भिक र व्यवहारिक लाग्छ।
नेपालजस्तो आर्थिक रूपमा कमजोर देशको विकासमा सहकारीले महत्वपूर्ण योगदान दिन सक्छ भन्ने कुरा पछिल्ला वर्षहरूमा भएका क्रियाकलापबाट स्पष्ट भएको छ। यद्यपि नेपालमा करिब २९,८८६ सहकारी सञ्चालनमा रहे पनि सबै क्षेत्रमा यसको प्रभावकारी उपयोग हुन सकेको छैन। यदि उत्पादन, सेवा र रोजगारीका सबैजसो क्षेत्रमा सहकारीलाई व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गरियो भने नेपाल धेरै पक्षमा आत्मनिर्भर बन्न सक्ने देखिन्छ।
घरेलु उद्योग सानो स्तरमा सञ्चालन हुने विकेन्द्रित उत्पादन प्रणाली हो, जसले नेपालजस्तो विकासोन्मुख मुलुकमा महत्वपूर्ण भूमिका खेल्छ। तर विश्वव्यापीकरणका कारण विदेशी वस्तुको प्रयोग बढ्दै जाँदा घरेलु उत्पादनको व्यवस्थापन र बजार विस्तार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा सहकारी घरेलु उत्पादनको व्यवस्थापन र बजारीकरणका लागि प्रभावकारी माध्यम बन्न सक्छ। यसका लागि समुदायस्तरमा सहकारीका लाभबारे जनचेतना फैलाउनुपर्छ, स्वदेशी उत्पादनलाई प्राथमिकता दिने शिक्षा तथा तालिम सदस्यहरूलाई दिनुपर्छ, आधुनिक बजार प्रणालीलाई एकीकृत गर्दै डिजिटल बजार र हबस्पटको विकास गर्नुपर्छ। यस्ता उपाय अपनाउन सके घरेलु उत्पादनको सफल बजारीकरण सम्भव हुन्छ।
प्राकृतिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपालमा सहकारीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको आधारका रूपमा सबै क्षेत्रमा विस्तार गर्नुपर्छ। आम नागरिकमाझ रहेको सीप, श्रम र प्रविधिलाई सहकारीमार्फत एकीकृत रूपमा प्रयोग गर्न सकिन्छ। सहकारी उद्यमशील संस्था भएकाले यसमा विविध सिर्जनशील र उत्पादनमूलक गतिविधिहरू समावेश हुन्छन्। जलस्रोत, उर्वरा भूमि, कृषि, पशुपालन, वन, वातावरण, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, प्रविधि, वित्त, यातायात, आवास, ऊर्जा, बिमा, जडीबुटी आदि क्षेत्रको अध्ययन गरी सहकारीमार्फत व्यवस्थापन गर्न सके स्वदेशमै प्रशस्त रोजगारी सिर्जना गर्न सकिन्छ।
नेपाललाई समुन्नत र सुखी मुलुक बनाउन विकासको मेरुदण्डका रूपमा सहकारीलाई सबै क्षेत्रसम्म विस्तार गर्न आवश्यक छ। जनसमुदायमाझ छरिएको पुँजी, सीप र प्रविधिको एकीकृत प्रयोग गर्दै जलस्रोत, कृषि र पर्यटन क्षेत्रमा सहकारीलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ। उद्योग व्यवस्थापनमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्दा युवाहरूको सक्रिय सहभागिताले विकास तीव्र बन्छ। यसले परनिर्भरता घटाउँदै आत्मनिर्भर संस्कृतिको विकास गर्छ र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउँछ। सहकारीमार्फत सबै उद्योगलाई व्यवस्थित गर्दै नयाँ सम्भावनाका क्षेत्र समेट्न सके नेपाल संसारकै समुन्नत र सुखी मुलुक बन्न सक्छ।
प्रस्तुत प्रबन्ध कक्षा १२ को नेपाली पाठ्यपुस्तकका सम्पादक समूहद्वारा तयार गरिएको हो, जसमा सहकारीलाई आर्थिक समृद्धिको आधारस्तम्भका रूपमा प्रस्तुत गरिएको छ। सहकारी भनेको समाजका सदस्यहरूले आपसी सहयोगका माध्यमबाट आर्थिक तथा सामाजिक विकासका लागि स्थापना गरेको साझा संस्था हो। यसले सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा उद्देश्यपूर्ण सामूहिक क्रियाकलाप सञ्चालन गर्दछ।
नेपालमा सहकारी आन्दोलनको सुरुआत वि.सं. २०१३ मा चितवनमा स्थापना भएको बखान ऋण सहकारी संस्थाबाट भएको हो। सहकारी विभागको वि.सं. २०७७ को तथ्याङ्कअनुसार नेपालमा २९,८८६ सहकारी सञ्चालनमा छन्। सहकारीमार्फत जनसमुदायमा छरिएको पुँजी, सीप र प्रविधिको एकीकृत प्रयोग भई व्यक्ति आत्मनिर्भर बन्दै गएको छ, जसले समाज र राष्ट्रको विकासमा योगदान पुर्याएको छ। न्यून पुँजी भएका व्यक्तिहरू पनि सानो सानो बचत गरेर ठूलो पूँजी निर्माणमा सहभागी हुन पाएका छन्। सहकारीले पारस्परिक सहयोगका माध्यमबाट सामाजिक सेवा, रोजगारी सिर्जना र आर्थिक विकासमा उल्लेखनीय भूमिका खेलेको छ। कृषक, श्रमिक, कालिगढ र उपभोक्तामाझ रहेको स्रोतलाई सहकारी मूल्य र सिद्धान्तअनुसार एकीकृत गरी राष्ट्रिय अर्थतन्त्र सुदृढ भएको छ। श्रम र सीपलाई महत्व दिँदै जलस्रोत, कृषि र पर्यटन क्षेत्रमा सहकारी सञ्चालन हुँदा स्वदेशमै रोजगारी बढेको छ। यसरी सहकारीले परनिर्भरता घटाई आत्मनिर्भर संस्कृतिको विकास गर्दै नेपाललाई समुन्नत र सुखी मुलुकतर्फ अग्रसर गराएको छ।
प्रस्तुत प्रबन्धमा सहकारीलाई आर्थिक समृद्धिको आधारका रूपमा चित्रण गरिएको छ। सहकारी भनेको समाजका सदस्यहरूले सामूहिक रूपमा आर्थिक गतिविधि सञ्चालन गर्ने संस्था हो, जसले देशको सुख, समृद्धि र विकासमा सहयोग पुर्याउँछ।
सहकारीमा न्यून आय भएका व्यक्तिहरूले पनि सानो सानो रकम बचत गरेर ठूलो पूँजी निर्माण गर्ने अवसर पाउँछन्। सहकार्यका माध्यमबाट छरिएको पुँजी, सीप र प्रविधिको एकीकृत उपयोग हुँदा आर्थिक उन्नति सम्भव हुन्छ र व्यक्ति आत्मनिर्भर बन्छ। ‘एकका लागि सबै र सबैका लागि एक’ भन्ने भावनाबाट प्रेरित भएर स्थानीय तहमा सहकारी स्थापना गरिएको देखिन्छ। सहकारीले सानो पूँजी भएका व्यक्तिलाई पनि सहभागी गराउँछ, जसले ‘एक थुकी सुकी सय थुकी नदी’ भनेझैँ एक एक थोपा जम्मा गरी ठूलो गाग्रो भर्ने अवसर प्रदान गर्छ। एक्लै गर्न नसकिने काम समूहमा सजिलै गर्न सकिने भएकाले सहकारीको आवश्यकता बढेको हो। नेपालमा धेरै मानिससँग उद्यम गर्ने इच्छा भए पनि पूँजीको अभाव हुन्छ, सहकारीले सबैबाट सानो सहयोग संकलन गरी सबैलाई लाभ पुर्याउने भएकाले सहकारीमा एक एक थोपा जम्मा गरी गाग्रो भर्ने सुविधा छ भनिएको हो।
समालोचनाको मुख्य उद्देश्य साहित्यिक कृतिको गुण र कमजोरी पहिचान गरी त्यसको व्याख्या तथा मूल्याङ्कन गर्नु हो।
‘सृष्टि’ ले सिर्जनात्मक कार्यलाई र ‘दृष्टि’ ले त्यसलाई विश्लेषण गरेर हेर्ने दृष्टिकोणलाई जनाउँछ।
पाश्चात्य साहित्यका पहिलो सिर्जनात्मक कृति ‘इलियड’ र ‘ओडिसी’ तथा समालोचनात्मक कृति ‘काव्यशास्त्र’ हुन्।
(घ) ‘कवि भानुभक्ताचार्यको जीवन चरित्र’ जीवनीपरक कृतिलाई किन नेपाली साहित्यको प्रथम कृति मानिन्छ ?
यस कृतिमा कवि भानुभक्त र उनको ‘रामायण’ माथि विवेचनात्मक दृष्टि प्रस्तुत भएकाले यसलाई नेपाली साहित्यको प्रथम कृति मानिन्छ।
बुँदाहरू :
(क) जिज्ञासा प्रवृत्तिको विकास र सुसंस्कारको स्थापना शिक्षाको मूल उद्देश्य,
(ख) सकारात्मक परिवर्तनका लागि शिक्षा धर्म र संस्कृतिसँग मेल खानुपर्ने,
(ग) कर्तव्यप्रधान जीवनदृष्टिले समाज शुद्ध बन्ने,
(घ) संस्कृतिमूलक शिक्षाबाट मानव सफल र नैतिक बन्ने।
सारांश :
शिक्षाको उपयोगिता
शिक्षाको मुख्य उपयोगिता जिज्ञासा विकास र सुसंस्कारको स्थापना हो। सकारात्मक सामाजिक परिवर्तनका लागि शिक्षा धर्म र संस्कृतिसँग अनुकूल हुनुपर्छ। कर्तव्यप्रधान जीवनदृष्टिको विकासबाट समाज प्रदूषणमुक्त बन्छ। संस्कृतिमूलक शिक्षाले मानवलाई असल र सफल बनाउँछ।
अनुच्छेदमा भएको शब्दसङ्ख्या : १५१
एक तृतीयांशमा हुने शब्दसङ्ख्या : ५०
सारांशमा भएको शब्दसङ्ख्या : ५२
उठ्छ बिहान सबेरै कविर । गर्छ नित्यकर्म ऊ । उठाउँछ ऊ आफ्ना भाइबहिनीलाई । उनीहरू सबैलाई उसकी आमाले चियाखाजा दिनुहुन्छ । किताबकापी बोकेर जान्छ ऊ विद्यालय । पढ्छ विद्यालयमा मिलेर साथीहरूसित । गृहकार्य गर्छ ऊ । पढाउँछ ऊ भाइबहिनीलाई । जान्छ ऊ फुर्सदको समयमा पुस्तकालय ।
१. अल्पविराम ( , )
२. पूर्णविराम ( । )
३. प्रश्नवाचक चिह्न ( ? )
४. दोहोरो उद्धरण चिह्न ( " " )
५. एकोहोरो उद्धरण चिह्न ( ' ' )
६. विस्मयादिबोधक चिह्न ( ! )
छिरिङ हरेक दिन नियमित रूपमा कुनै न कुनै नयाँ पुस्तक पढ्ने गर्थे । उनले कथा, कविता, उपन्यास र यात्रा सस्मरण विधाका धेरै किताब पढिसकेका थिए । 'मुनामदन' पढ्दा उनी निकै भावुक बनेका थिए । पढ्दाखेरि केही कुरा नबुझ्दा उनी हजुरआमासँग जान्थे र किताब देखाउँदै भन्थे, "हजुरआमा यसको अर्थ के हो ?" किताब देख्नेबित्तिकै हजुरआमा भन्नुहुन्थ्यो, “ओहो ! तिमीले यो के ल्यायौ ?" हजुरआमालाई भने काला अक्षर भैंसी बराबर थिए । यसैले हजुरआमाले सम्झाएको भावमा उनलाई भन्नुहुन्थ्यो, "मैले तिमीहरूको जस्तो बेलामा विद्यालय जान पाइनँ । यसैले मलाई केही आउँदैन । तिमीहरू त धेरै भाग्यमानी छौ । सानैदेखि विद्यालय जान पाएका छौ आमाबुबासित सोध्न पाएका छौ त्यसैले भरे आमा आएपछि सोध न ।" यसो भने पनि उनी हजुरआमाका कुरा बारम्बार सुनिरहन्थे । आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको भने झैँ छिरिङ हजुरआमाको अनुभवपूर्ण कुराबाट प्रत्येक दिन केही न केही नयाँ कुरा सिकिरहेका हुन्थे ।
सहकारी लोकतान्त्रिक संस्था हुन् । सहकारीका सदस्य आफ्नो संस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रिय रूपमा सहभागी हुन्छन् ।
GP Sir is a Development Economist and a Banking Professional. He holds M.A. degrees in Economics, Political Science, Rural Development, a B.Ed., and is an MPhil scholar in Economics. He writes to connect economics with people’s lives.
NEB Class 12 Nepali Chapter 10, titled Nepali Pahichan (नेपाली पहिचान), presents an analysis of Nepal's cultural, social, and national identity. यसले विद्यार्थीलाई राष्ट्रिय गौरव र सांस्कृतिक चेतना बुझ्न मद्दत पुर्याउँछ।
Nepali Pahichan (Nepali Identity) is an important chapter in the NEB Class 12 Nepali curriculum that explores the cultural, social, and national identity of Nepal. The chapter highlights Nepal as a multiethnic, multilingual, and multicultural nation where diversity is not a weakness but a strength.
Through a dialogue-based presentation, the lesson explains how Nepal’s identity is shaped by its diverse languages, castes, cultures, traditions, religions, and geographical features. It emphasizes that unity, tolerance, and mutual respect among different communities form the foundation of Nepalese society.
The chapter also discusses how education plays a vital role in eliminating social evils such as superstition, discrimination, and harmful traditions. By promoting awareness, scientific thinking, and inclusiveness, education strengthens national unity and preserves cultural values.
Overall, Nepali Pahichan encourages students to respect diversity, protect cultural heritage, and develop a sense of national pride and responsibility. The chapter helps learners understand that Nepal’s true identity lies in harmony within diversity.
👉 Read NEB Class 12 Nepali All Chapter Notes
नेपाली पहिचान कक्षा १२ को नेपाली पाठ्यक्रमअन्तर्गत पर्ने महत्वपूर्ण पाठ हो। यस पाठमा नेपालको सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय पहिचानको विश्लेषण गरिएको छ। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएको तथ्यलाई यस पाठले स्पष्ट रूपमा उजागर गरेको छ।
संवादात्मक शैलीमा प्रस्तुत गरिएको यस पाठले जाति, भाषा, संस्कृति, परम्परा, धर्म र भौगोलिक विविधताले नेपाली समाजको पहिचान निर्माण गरेको देखाउँछ। विविधताबीचको सहिष्णुता, एकता र आपसी सम्मान नै नेपाली समाजको मूल विशेषता भएको कुरामा जोड दिइएको छ।
यस पाठमा शिक्षा सामाजिक परिवर्तनको मुख्य आधार भएको कुरा पनि स्पष्ट गरिएको छ। शिक्षाको विकाससँगै अन्धविश्वास, कुसंस्कार, कुरीति, छुवाछुत र विभेदजस्ता सामाजिक विकृतिहरू क्रमशः हट्दै जाने धारणा प्रस्तुत गरिएको छ।
समग्रमा, नेपाली पहिचान पाठले विद्यार्थीहरूलाई विविधताको सम्मान गर्न, सांस्कृतिक सम्पदाको संरक्षण गर्न र राष्ट्रिय गौरव तथा जिम्मेवारीको भावना विकास गर्न प्रेरित गर्छ। नेपालको वास्तविक पहिचान विविधतामा रहेको एकता हो भन्ने सन्देश यस पाठले दिन्छ।
निष्कर्षोन्मुख : निष्कर्षमा पुग्न खोजेको
अर्गानिक : जैविक
सौन्दर्य : सुन्दर हुनुको भाव
लैंगिक : लिङ्गसम्बन्धी
विभेद : भेदभाव
कुपरम्परा : नराम्रो परम्परा
संश्लेषण : जोड्ने काम
निर्मूल : पूरै सखाप पारिएको
सान्दर्भिक : प्रसङ्गअनुसार मिल्ने
आडम्बर : देखावटी, ठाटबाट
फलदायी : फल दिने, फाइदाजनक
१. अवलोकन : कुनै विषय वा वस्तुलाई ध्यानपूर्वक नियाल्ने कार्य
२. आरोहण : माथिल्लो दिशातर्फ पुग्ने प्रक्रिया
३. आविष्कार : पहिले अस्तित्वमा नभएको वस्तु वा विचारको खोज
४. गन्तव्य : यात्राको अन्तिम लक्ष्य स्थान
५. छरपस्ट : व्यवस्थित नभई यत्रतत्र फैलिएको अवस्था
६. परिकार : पकाएर तयार गरिएको खाद्य सामग्री
७. पहिचान : व्यक्ति वा वस्तुको वास्तविकता चिन्ने आधार
८. मौका : कुनै कार्य सम्पन्न गर्न अनुकूल अवस्था
९. विशिष्टता : अरूभन्दा फरक र खास हुने गुण
१०. सदुपयोग : उपलब्ध साधन–स्रोतको सही तरिकाले प्रयोग
११. सम्मान : आदरपूर्वक व्यक्त गरिने कदर
१२. सरोकार : प्रत्यक्ष रूपमा सम्बन्धित विषय वा चासो
लख काट्नु : दूरी वा परिमाणको अन्दाज गर्नु
👉 घना कुहिरोमा टाढाको बस्ती कति टाढा छ भन्ने लख काट्न मुस्किल भयो।
आलु खानु : योजनामा पूर्ण रूपमा चुक्नु
👉 रामले धेरै तयारी नगरेकाले अन्तर्वार्तामा आलु खानुपर्यो।
पसिना काढ्नु : कठोर परिश्रम गर्नु
👉 किसानले खेतमा पसिना काढेपछि मात्र राम्रो बाली फल्छ।
कुरा खानु : आज्ञा वा सुझाव स्वीकार गर्नु
👉 घरका जेठाको कुरा खान सके परिवारमा झगडा हुँदैन।
कान खानु : बारम्बार भनेझैँ गरेर हैरान पार्नु
👉 मोबाइल किनिदिनुपर्छ भन्दै छोराले दिनभर कान खाइरहेको छ।
हावा खानु : पद, प्रतिष्ठा वा अवस्था गुमाउनु
👉 घमण्ड गर्ने अधिकारीले नियम नमान्दा अन्ततः हावा खायो।
आँखा चिम्लिनु : जानाजानी बेवास्ता गर्नु
👉 समाजका विकृतिमा आँखा चिम्लिनु बुद्धिमानी होइन।
मन चोर्नु : कसैलाई आकर्षित बनाउनु
👉 उसको सरल बोलीले सबैको मन चोर्यो।
मुख छाड्नु : अशिष्ट भाषा प्रयोग गर्नु
👉 सानो कुरामा मुख छाड्नु सभ्य व्यवहार होइन।
अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ भनेझैँ, एकपटक गम्भीर ठगीमा परेको रमेश आजकल सानो शङ्कामै सतर्क हुन्छ। अड्को–पड्को तेलको धूप झैँ, आकस्मिक अवस्थामा उसले साधारण उपाय अपनाएर काम चलाउँछ। अनुभवी व्यक्तिका सामु अज्ञानतापूर्वक कुरा गर्नु इन्द्रका अगाडि स्वर्गको बयान गरे जस्तै हुन्छ भन्ने कुरा उसले व्यवहारबाट बुझेको छ। एक हातले ताली नबज्ने भएकाले सबैले मिलेर काम गर्नुपर्छ भन्ने सोच उसले आत्मसात् गरेको छ। काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्ने यथार्थ जीवनमा सधैँ लागू हुन्छ।
अधिमूल्यन 👉 बजारमा घरजग्गाको अधिमूल्यन हुँदा मध्यम वर्गको पहुँच झन् टाढिँदै गएको छ।
अलङ्कार 👉 उपमालङ्कारको प्रयोगले उक्त कवितालाई अझ आकर्षक बनाएको छ।
अवमूल्यन 👉 राजनीतिक अस्थिरताले राष्ट्रिय मुद्राको अवमूल्यन तीव्र भएको देखिन्छ।
आवासीय 👉 आवासीय विद्यालयमा बस्ने विद्यार्थीहरू अनुशासित देखिन्छन्।
आशुकवि 👉 समारोहमा घटेको घटनालाई आशुकविले तुरुन्तै छन्दबद्ध कवितामा उतारे।
उपन्यास 👉 सामाजिक यथार्थ चित्रण गरेको त्यो उपन्यास पाठकबीच निकै लोकप्रिय भयो।
कथा 👉 बालकको संघर्ष झल्काउने उक्त कथाले सबैलाई भावुक बनायो।
कविता 👉 उनकी कवितामा देशप्रेम र मानवीय संवेदनाको सुन्दर अभिव्यक्ति भेटिन्छ।
छन्द 👉 निर्धारित छन्द नअपनाएकाले कविता लयबद्ध सुनिएन।
निबन्ध 👉 वातावरण संरक्षण विषयमा लेखिएको निबन्धले निर्णायकहरू प्रभावित भए।
रस 👉 उक्त नाटकमा वीर र करुण रसको सशक्त संयोजन देखिन्छ।
(क) नेपाली समाजको अवस्थाप्रति घनश्यामको बुझाइ कस्तो छ ?
नेपाली समाजको बहुरूपी स्वरूप देखेर घनश्याम अचम्भित भएको देखिन्छ। एउटै समाजभित्र विभिन्न जाति, भाषा र संस्कृतिको सहअस्तित्व भएकाले विचार र दृष्टिकोणमा भिन्नता हुनु स्वाभाविक ठान्छ। यस्ता मतभेदहरूले समाजको प्रगतिमा अवरोध त पार्दैनन् भन्ने जिज्ञासाका कारण घनश्याममा चिन्ता र अन्योल देखिन्छ। यसबाट समाजबारे उसको बुझाइ अझै पूर्ण रूपमा परिपक्व भइसकेको छैन भन्ने बुझिन्छ।
(ख) बेखामानको भनाइका आधारमा नेपाली समाजको पहिचान के हो ?
बेखामानका अनुसार नेपाली समाजको मुख्य विशेषता नै यसको विविधता हो। यहाँ अनेक जातजाति, भाषा र संस्कृतिको सहअस्तित्व रहेको छ। यही बहुजातीय र बहुसांस्कृतिक स्वरूप नै नेपाली समाजको चिनारी हो। त्यसैले नेपाली समाजको पहिचान भन्नाले यसको बहुजातीय र विविधतायुक्त संरचना जनाउँछ।
(ग) सिम्माको भनाइका आधारमा “विविधता नै सम्पत्ति हो” कसरी ?
सिम्माका अनुसार नेपाल अनेक जाति, भाषा र संस्कृतिले भरिएको मुलुक हो। प्रत्येक जाति र भाषामा मानिसका ज्ञान, अनुभव, परम्परा र संस्कृतिहरू सुरक्षित हुन्छन्। सभ्यता भनेको यिनै जाति, भाषा र संस्कृतिको संयुक्त रूप हो। जब समाजमा यस्ता तत्त्वहरूमा विविधता हुन्छ, तब सभ्यता पनि समृद्ध बन्छ। त्यसैले जाति, भाषा र संस्कृतिको विविधता भएको हाम्रो समाज विविध सभ्यताको संगम भएकाले विविधता नै ठूलो सम्पत्ति हो।
(घ) सलिमको भनाइका आधारमा नेपाली समाजको सुन्दर पक्ष स्पष्ट पार्नुहोस्।
सलिमका अनुसार नेपाली समाजको सबैभन्दा सुन्दर पक्ष विविधताबीचको आपसी सद्भाव र एकता हो। विभिन्न जाति, भाषा र संस्कृतिका मानिसहरू एकअर्कालाई सम्मान गर्दै सहकार्यका साथ बस्नु नेपाली समाजको राम्रो विशेषता हो। फरक संस्कृतिप्रति सहिष्णुता र मेलमिलापको भावना नै नेपाली समाजको मौलिक पहिचान र सौन्दर्य हो।
(ङ) नेपाली विविधतालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ ? आफ्नो विचार लेख्नुहोस्।
नेपाल भौगोलिक रूपमा सानो भए पनि प्राकृतिक र सांस्कृतिक विविधताले भरिपूर्ण देश हो। यहाँ हिमाल, पहाड, तराई, वनजङ्गल, जैविक विविधता तथा ऐतिहासिक र सांस्कृतिक सम्पदा प्रशस्त छन्। कतिपय पर्यटक पर्वतारोहणका लागि आउँछन् भने केही संस्कृति, इतिहास र जैविक विविधताको अध्ययन तथा अवलोकनका लागि आउने गर्छन्। यसैले नेपाली समाजको प्राकृतिक र सांस्कृतिक विविधतालाई सांस्कृतिक तथा पर्यावरणीय पर्यटनसँग प्रभावकारी रूपमा जोड्न सकिन्छ।
(च) पाठका आधारमा नेपाली समाजमा रहेका विकृति र विसङ्गति उल्लेख गर्नुहोस्।
नेपाली समाजमा विभिन्न प्रकारका विकृति, विसङ्गति र अन्धविश्वास विद्यमान छन्। संस्कृतिका नाममा देखाइने अनावश्यक आडम्बर, जातीय र लैङ्गिक विभेद, दाइजो र तिलकजस्ता कुप्रथाहरू समाजका नकारात्मक पक्ष हुन्। साथै छुवाछुत, बोक्सी, भूतप्रेतजस्ता अन्धविश्वास अझै कतिपय स्थानमा पाइन्छन्। मानिसलाई जात, वर्ग, लिङ्ग वा क्षेत्रका आधारमा गरिने भेदभाव पनि नेपाली समाजका प्रमुख विसङ्गति हुन्।
“जब शिक्षाको राम्रो विकास हुन्छ तब अन्धविश्वास, कुसंस्कार र कुरीति क्रमशः अन्त्य हुँदै जान्छन्” भन्ने कथन ‘नेपाली पहिचान’ शीर्षकको संवादमा सिम्माले बेखामानको विचारलाई समर्थन गर्ने सन्दर्भमा व्यक्त गरेको हो। यस कथनको मूल भाव शिक्षा सामाजिक सुधारको सबैभन्दा प्रभावकारी माध्यम हो भन्ने हो।
मानिस चेतनशील प्राणी भएकाले उसले सही र गलत छुट्याउन सक्ने क्षमता शिक्षाबाट प्राप्त गर्छ। शिक्षा ज्ञान र विवेकको प्रकाश हो, जसले मानिसलाई तर्कशील बनाउँछ। शिक्षित व्यक्तिले परम्पराका नाममा चलिआएका अन्धविश्वास, कुसंस्कार र कुरीतिलाई प्रश्न गर्न थाल्छ। जब समाजमा शिक्षा फैलिन्छ, तब गलत मान्यताहरू स्वतः कमजोर बन्दै जान्छन्।
शिक्षाले वैज्ञानिक सोचको विकास गराउँछ। यसले भूत–प्रेत, बोक्सी, छुवाछुत, दाइजो जस्ता कुप्रथाहरूलाई सामाजिक अपराधका रूपमा बुझ्न सहयोग गर्छ। सानै उमेरदेखि विद्यालय तहमा यस्ता विकृतिहरूको विरोधबारे चेतना दिन सके समाज क्रमशः सुधारको बाटोमा अघि बढ्छ। आज विश्व विज्ञान र प्रविधिमा तीव्र गतिले अगाडि बढिरहेको अवस्थामा पुरानो अन्धविश्वासी सोच बोकेर अघि बढ्नु उपयुक्त हुँदैन।
समाजका शिक्षित वर्गले अन्धविश्वास फैलाउने क्रियाकलापलाई रोक्न र अरूलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्। जब सम्पूर्ण समाज शिक्षित बन्छ, तब अन्धविश्वासको जग आफैँ ढल्छ। त्यसैले शिक्षा नै अन्धविश्वास, कुसंस्कार र कुरीति उन्मूलन गर्ने सबल साधन हो भन्ने कुरा यो कथनले स्पष्ट पार्छ।
नेपाल प्राकृतिक दृष्टिले अत्यन्त समृद्ध देश हो। यहाँ विश्वकै अग्ला हिमालहरू सगरमाथा, कञ्चनजङ्घा, मकालु, मनास्लु, चोयु आदि रहेका छन्। यिनीसँगै खोलानाला, नदी, तालतलैया, झरना, गुफा, डाँडापाखा, उपत्यका र हरियाली वनजङ्गलले नेपालको सौन्दर्य बढाएका छन्। साथै विभिन्न पशुपक्षी, जीवजन्तु र जैविक विविधता पनि नेपालको प्राकृतिक सौन्दर्यका महत्त्वपूर्ण अङ्ग हुन्।
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यहाँ सांस्कृतिक पर्यटनको ठूलो सम्भावना छ। विश्वका धेरै पर्यटकहरू नेपाल प्राकृतिक सौन्दर्यका लागि आउने गर्छन् तर यहाँको सांस्कृतिक विविधता उनीहरूका लागि थप आकर्षण बन्न सक्छ। विभिन्न जातजातिका चाडपर्व, संस्कार, भाषा, भेषभूषा, खानपान र जीवनशैलीलाई नजिकबाट अनुभव गर्नु नै सांस्कृतिक पर्यटन हो।
सांस्कृतिक पर्यटनले पर्यटकलाई स्थानीय जीवनपद्धतिसँग प्रत्यक्ष जोड्छ र अनौठा तथा स्मरणीय अनुभव प्रदान गर्छ। विविध संस्कृतिले भरिएको नेपाली समाज सांस्कृतिक पर्यटनको दृष्टिले अत्यन्त उपयुक्त भएकाले यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न आवश्यक छ।
“सगरमाथामा आरोहणमा कीर्तिमान” शीर्षकको समाचार संरचनागत रूपमा छ ओटा अनुच्छेदमा विभाजित छ। यस समाचारको मुख्य विषयवस्तु हिमाल आरोहण, त्यस क्रममा कायम गरिएका विश्व कीर्तिमान र पर्यटनसँग सम्बन्धित गतिविधि हो। समाचारले सगरमाथा आरोहण गर्ने आरोहीहरू र उनीहरूले बनाएका कीर्तिमानबारे तथ्यात्मक जानकारी दिन्छ।
यसको लेखनशैली वर्णनात्मकभन्दा बढी तथ्यपरक र विवरणात्मक छ। प्रयोग गरिएको भाषा सरल, स्पष्ट र सहज छ, जसले पाठकलाई विषय बुझ्न सजिलो बनाउँछ। समग्रमा यो समाचार सूचनामूलक, ज्ञानवर्धक र नेपालको पर्यटकीय महत्व उजागर गर्ने शैलीमा प्रस्तुत गरिएको छ।
पाठक वा श्रोतामा चासो जगाउने र नयाँ जानकारी दिने राजनीति, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यापार, संस्कृति, समाजजस्ता विविध क्षेत्रका विषयवस्तु समाचार बन्न सक्छन्।
समाचारको भाषा सरल, स्पष्ट र संक्षिप्त हुनुपर्छ। छोटा वाक्य प्रयोग गरिनुका साथै अनावश्यक विशेषण र क्रियाविशेषण प्रयोग नगर्नु उपयुक्त हुन्छ।
फिचर समाचारमा कुनै विषय वा घटनालाई कलात्मक र विस्तारपूर्वक प्रस्तुत गरिन्छ। घटनापरक समाचारमा भने कुनै घटेको घटनाबारे को, के, कहाँ, कहिले, किन र कसरी जस्ता प्रश्नको उत्तर दिइन्छ। प्रक्रियापरक समाचारमा घटनाको विवरणसँगै त्यसको पृष्ठभूमि, क्रम र परिणामसमेत समेटिन्छ।
समाचारका प्रमुख विशेषता सत्यता, विश्वसनीयता, नवीनता, रोचकता, सन्तुलन, स्पष्टता र भाषिक सरलता हुन्।
टोलमा सरसफाइ अभियान सम्पन्न
चितवन, २० माघ ।
“स्वच्छ टोल, स्वस्थ जीवन” भन्ने नाराका साथ भरतपुर महानगरपालिका वडा नं. ५ अन्तर्गतका विभिन्न टोल क्षेत्रमा बृहत सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय बासिन्दामा वातावरण संरक्षणप्रति चेतना फैलाउने उद्देश्यले यो अभियान आयोजना गरिएको हो।
अभियानअन्तर्गत मुख्य सडक, गल्ली, नाली, सार्वजनिक स्थल तथा खुला स्थानमा लामो समयदेखि जम्मा भएका प्लास्टिक, कागज, सिसा र अन्य फोहोर सामग्रीहरू संकलन गरिएको थियो। संकलित फोहोरलाई छुट्याएर नगरपालिकाको सहयोगमा उचित व्यवस्थापन गरिएको छ। यस क्रममा नाली सफा गरी पानीको निकास सहज बनाइएको थियो।
सरसफाइ अभियानमा टोल विकास समिति, आमा समूह, युवा क्लब, विद्यार्थी, स्वयंसेवक तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले सरसफाइसँगै प्लास्टिकको प्रयोग घटाउन, फोहोर जथाभावी नफाल्न र वातावरण स्वच्छ राख्न आग्रह गरेका थिए।
कार्यक्रमका क्रममा बोल्दै टोल विकास समितिका अध्यक्षले सरसफाइ एकदिने अभियानमा मात्र सीमित नराखी नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले स्वच्छ वातावरणले स्वस्थ जीवन सुनिश्चित गर्ने भएकाले टोलवासी सबैको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो।
अभियान सम्पन्न भएपछि वडा कार्यालयले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, स्वयंसेवक तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेको छ। साथै, भविष्यमा पनि यस्ता सरसफाइ तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ।
(क) अस्मिता घर गइन् । अस्मिताले आफ्ना साथीसङ्गी भेटिन् । अस्मिता साथीसँग जङ्गल घुम्न गइन् । अस्मिताले खोलामा गएर पौडी खेलिन् । अस्मिताले एक हप्ता रमाइलोसँग बिताइन् । अस्मिता सहर फर्किइन् ।
घर गएर आफ्ना साथीसङ्गी भेटी उनीहरूसँग जङ्गल घुम्न गएकी अस्मिता खोलामा गएर पौडी खेल्दै एक हप्ता रमाइलोसँग बिताएर सहर फर्किइन् ।
(ख) मुस्ताङ हिमाली जिल्ला हो । मुस्ताङ पर्यटकीय जिल्ला हो । मुस्ताङमा धेरै हावा चल्छ । मुस्ताङ स्याउका लागि प्रसिद्ध छ । मलाई मुस्ताङ घुम्न मन लागेको छ ।
पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा धेरै हावा चले पनि स्याउका लागि प्रसिद्ध भएकाले मलाई मुस्ताङ घुम्न मन लागेको छ ।
(ग) विनोद कर्ण सप्तरीका बासिन्दा हुन् । उनी नेपाली साहित्यका प्राध्यापक हुन् । उनी सहयोगी र इमानदार छन् । उनी कविता लेख्न र चित्र कोर्न मन पराउँछन् ।
सहयोगी र इमानदार सप्तरीका बासिन्दा विनोद कर्ण नेपाली साहित्यका प्राध्यापक भएकाले उनी कविता लेख्न र चित्र कोर्न मन पराउँछन् ।
(क) जगल सखाप हुन थालेपछि मृग, घोरल जस्ता जनावर र कतिपय चरा लोप हुने अनि पानीको मुहान पनि सुक्ने खतरा भएको छ । (३ वाक्यमा)
जङ्गल सखाप हुन थाल्छ । मृग, घोरल जस्ता जनावर र कतिपय चरा लोप हुन्छन् । पानीको मुहान पनि सुक्ने खतरा भएको छ ।
(ख) प्रदूषण बढेसँगै हिमालमा हिउँ घट्यो समयमा पानी पर्न छाड्यो अनि सफा आकाश देख्न छाडियो । (४ वाक्यमा)
प्रदूषण बढ्यो । हिमालमा हिउँ घट्यो । समयमा पानी पर्न छाड्यो । सफा आकाश देख्न छाडियो ।
(ग) सुदूरपश्चिम र कर्नाली क्षेत्रमा प्रचलित देउडा काठमाडौँ र विदेशमा समेत लोकप्रिय छ । (३ वाक्यमा)
देउडा सुदूरपश्चिम क्षेत्रमा प्रचलित छ । देउडा कर्नाली क्षेत्रमा प्रचलित छ । देउडा काठमाडौँ र विदेशमा समेत लोकप्रिय छ ।
(घ) मलाई घमाइलो दिन, जुनेली रात, हरियो वन, लहलह बाली झुलेको खेतबारी, नेपाली खाना र सहयोगी साथी मनपर्छ । (५ वाक्यमा)
मलाई घमाइलो दिन र जुनेली रात मनपर्छ । मलाई हरियो वन मनपर्छ । मलाई लहलह बाली झुलेको खेतबारी मनपर्छ । मलाई नेपाली खाना मनपर्छ । मलाई सहयोगी साथी मनपर्छ ।
(ङ) जब असार लाग्छ तब मेरो मनले गाउँघर सम्झिन्छ । (२ वाक्यमा)
असार लाग्छ । मेरो मनले गाउँघर सम्झिन्छ ।
कर्तृवाच्यका वाक्यहरू :
म सबेरै उठें ।
मैले उमेशलाई बोलाएँ ।
उमेश आँखा मिच्दै आयो ।
हामी बाटो लाग्यौँ ।
कर्मवाच्यका वाक्यहरू :
दाउन्नेमा पुगेर खाना खाइयो ।
भालुवाङमा चिया पिइयो ।
गाडीमा गीत गाइयो ।
ठट्टा गरियो ।
भोलिपल्ट स्थानीय साथी भेटिए ।
कुराकानी गरियो ।
रमाइलो गरियो ।
भाववाच्यका वाक्यहरू :
बेलुका घोराहीमा वास बसियो ।
राती मस्त निदाइयो ।
मस्तसँग हाँसियो ।
म प्रत्येक दिन बिहान करिब साढे पाँच बजे उठ्छु। उठेपछि म हातमुख धोएर दिनको सुरुवात गर्छु। त्यसपछि म केही समय हल्का व्यायाम र योग अभ्यास गर्छु। करिब सात बजे म नास्ता खान्छु र त्यसपछि कापी–किताब मिलाएर गृहकार्य पूरा गर्छु। आठ बजेतिर म खाना खान्छु र विद्यालय जान तयार हुन्छु। विद्यालयमा म समयमै कक्षामा प्रवेश गर्छु र ध्यान दिएर पढ्छु। नबुझेका विषयहरू म शिक्षकलाई सोधेर नोट गर्छु। दिउँसो विद्यालय छुट्टी भएपछि म घर फर्कन्छु। घर आएर म पोशाक फेर्छु र खाजा खान्छु। साँझ म केही समय साथीहरूसँग खेल्छु। बेलुका म गृहकार्य दोहोर्याउँछु र पढाइ गर्छु। करिब आठ बजे म खाना खान्छु र केही समय पढेपछि म राति सुत्न जान्छु।
वैशाख २ गते बिहान गाउँका साथीहरू मिलेर वनभोज जाने योजना बनाइयो। घरबाट करिब डेढ किलोमिटर टाढा रहेको जङ्गल क्षेत्रमा पुगियो। त्यहाँ पुगेपछि गाडीबाट ल्याइएका सामग्रीहरू झारिए। चिया पकाउने काम गरियो र सबैले चिया पिइयो। त्यसपछि खानपिनको तयारीमा सबै व्यस्त भइयो। कसैद्वारा दाउरा संकलन गरियो, कसैद्वारा आगो बालियो, कसैद्वारा पानी ल्याइयो र सब्जी केलाउने काम गरियो। रमाइला गीतहरू गाइए र वातावरण झन् रमाइलो बनाइयो। मादल बजाइयो र नाचगान पनि गरियो। वनभोजमा सबै खुसीसाथ रमाइलो गरियो। फर्किने बेलामा चलचित्र कलाकारका केही पोस्टरहरू किनियो र साँझतिर घर फर्कियो।
मैले जीवनमा धेरै दुःखसुख भोगेँ । मैले धेरै अनुभव गरेँ । म कहिले खुसीले हाँसें । म कहिले साथीभाइसँग नाचॆं । म देशविदेश घुमेँ । मैले दुःख र अभावलाई केल्दै विद्यालयमा पढ़ें । मैले आफैँ खर्च जुटाएर उच्च शिक्षा हासिल गरेँ । मैले सबैको भलो सोचें । मैले कहिल्यै कसैको चित्त दुखाइनँ । मैले कहिल्यै कसैको अहित चिताइनँ । मैले सकेसम्म अरूको भलाइ हुने काम गरेँ । मैले जीवन सङ्घर्ष हो भन्ने कुरा सिकेँ । अब पनि इमानदार भएरै बाँच्ने छु । म कर्तव्य कहिल्यै भुल्दिनँ । म अन्याय सहन्नँ । म अरूमाथि अन्याय गर्दिनँ ।
बिसन र अनुपमाद्वारा पुस्तकालय गइयो । बिसनद्वारा कथाका किताब छानिए । अनुपमाद्वारा मौसम विज्ञानसम्बन्धी किताब छानियो । त्यसपछि (उनीहरूद्वारा) पुस्तकालयबाट बाहिर निस्कियो । (उनीहरूद्वारा) कलेजको भोजनालयमा पसियो । बिसनद्वारा दही चिउरा खाइयो । अनुपमाद्वारा चिउरा तरकारी खाइयो । त्यसपछि (उनीहरूद्वारा) कक्षाकोठामा आइयो । गुरूआमाद्वारा वाच्य पढाइयो ।
(क) रेडीयो टीभी जस्ता सव्यद्रिस्य माध्एमबाट प्रसारित वा पत्रीका आदि छापामाध्यम बाट पर्काशित घटनाका ताजा विवरण समाचार हुन् ।
रेडियो र टिभी जस्ता श्रव्यदृश्य माध्यमबाट प्रसारित वा पत्रिका आदि छापा माध्यमबाट प्रकाशित घटनाका ताजा विवरण समाचार हुन् ।
(ख) जातीए बिभेद लैङ्गिक विभेद वर्ण वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनी कमि आउँदै छ । तिन लाई पनि हटाउनुपर्छ । सङ्गीता जीले भनेजस्तै यशका लागि शिक्षाको खांचो छ ।
जातीय विभेद, लैङ्गिक विभेद, वर्ण, वर्ग र क्षेत्रका नाममा रहेका विभेदमा पनि कमी आउँदै छ । तिनलाई पनि हटाउनुपर्छ । सङ्गीताजीले भने जस्तै यसका लागि शिक्षाको खाँचो छ ।
GP Sir is a Development Economist and a Banking Professional. He holds M.A. degrees in Economics, Political Science, Rural Development, a B.Ed., and is an MPhil scholar in Economics. He writes to connect economics with people’s lives.
The Economic Frontline has earned an EXCELLENT rating for credibility and trustworthiness from MediaGuard, a global authority on Personal Blogging standards.
Powered by Google Blogger | VIP